डोटीमा जंगली भालुको आक्रमणमा परि दुई जना  घाइते

 

डोटी-डोटीको आदर्श गाउँपालिका १ मा जंगली भालुको आक्रमणमा परि दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ८४ वर्षीय रामबहादुर खड्का र उहाँकी पाँच वर्षीया नातिनी सरस्वती खड्कालाई भालुले आक्रमण गरेको हो ।

हिजो बेलुकी खेतबारीको काम सकेर घर फर्किँदै गर्दा उनीहरुलाई घर नजिकै भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनीहरुको दिपायलमा रहेको शैलश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा आहाराका लागि आउने जङ्गली जनावरले बर्सेनि आक्रमण गर्ने गरेकोे सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो । आक्रमण गर्ने भालु अहिले पनि गाउँमै घुमी रहेका कारण नियन्त्रणमा लिन स्थानीयबासिन्दाले प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।(उज्यालो)