शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि ट्रम्प तयार


काठमाडौं – अमेरिकी संसद भवन क्यापिटल हिलमा भएको हिंस्रक आक्रमणपछि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै राष्ट्रपति डोनल्ड ट्रम्पले व्यवस्थित रुपमा सत्ता हस्तान्तरण गर्न चाहेको बताएका छन्।

ट्वीटरमार्फत् एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले हिंसाको आलोचनासमेत गरेका छन्। उनले भने, ‘अरु अमेरिकी जस्तै म पनि यो घटनापछि निकै रिसाएको छु, संसद भवनको सुरक्षाका लागि मैले तुरुन्तै नेशनल गार्डसहितका सुरक्षाकर्मी परिचालन गरेको थिए।’ क्यापिटल हिलमा ट्रम्प समर्थकको आक्रमणपछि ट्रम्पले नभई उपराष्ट्रपति माइक पेन्सले सुरक्षाकर्मी परिचालनको निर्देशन दिएको कतिपय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

ट्रम्पले संसद भवनमा भएको घुसपैठ अमेरिकी लोकतन्त्रका लागि अपवित्र कार्य भएको बताउनु भएका थिए। ट्रम्पले भिडियो सन्देशमा आफूले व्यवस्थित रुपमा सत्ता हस्तान्तरणका लागि प्रतिबद्ध रहेको बताएका छन्। उनले नयाँ प्रशासन २० जनवरीमा आउने र सुचारु, सुव्यवस्थित र निर्वाध सत्ता हस्तान्तरण गर्ने उल्लेख गरे।

क्यापिटल हिलमा भएको समर्थकहरुको आक्रमणपछि ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि प्रतिबन्धित थियो। फेसबुक तथा इन्स्टाग्राममा ट्रम्पमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छैन।

यसैबीच क्यापिटल हिलमा भएको आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल पदबाट हटाउनुपर्ने माग तिब्र भएको छ। ट्रम्पले आफ्ना समर्थकलाई उत्तेजित पारेर संसद भवनमा आक्रमण गर्न लगाएको भन्दै चौतर्फी निन्दा भएको हो।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी र डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुले घटनाप्रति चर्को विरोध गर्दै ट्रम्पलाई तत्काल पदमा बसिरहनु नैतिक अधिकार नभएको बताएका छन्।