तेस्रो खेलको प्रतिक्षामा सन्दीप


काठमाडौं – नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिगबास लिगमा आफ्नो तेस्रो खेलको प्रतिक्षा गर्दैछन्‌।

जारी सिजन होबार्ट हरिकेन्सबाट खेलिरहेका सन्दीपले लगातार दुई खेलमा मौका पाइसकेका छन्‌। आज सिड्नी थन्डरविरुद्ध पनि सुरुवाती ११ मा मौका पाउने संभावना बलियो छ। हरिकेन्सको यो नवौं खेल हो। प्रतिष्पर्धा नेपाली समय अनुसार पौने एक बजे शुरू हुनेछ।

हरिकेन्सले आठ खेलबाट १८ अंक जोड्दै अंक तालिकाको तेश्रो स्थान कब्जा गरिरहेको छ। एक खेल कम खेलेको सिड्नी १९ अंकसहित दोश्रो स्थानमा छ। दुवै टीमले समान ५-५ खेलमा जित निकालेका छन्।

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने होबार्टमाथि सिड्नी हावी देखिएको छ। सिड्नीले तीन खेलमा जित निकाल्दा होबार्टले दुई खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल रहेको छ।

अष्ट्रेलियाको सरकारको १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाएका कारण होबार्टका सुरुवाती ६ खेल गुमाएका सन्दीपले पछिल्ला दुई खेलमा लगातार मौका पाएका छन्। उनले विकेट पनि हात पारेका छन्। दुई खेलमा उनले तीन विकेट लिए।

तर, सिजनको सुरुवात विकेटबाट भएपनि सन्दीप खर्चिला देखिएका छन्। उनले पहिलो खेलमा ३८ तथा दोश्रो खेलमा ३६ रन खर्चिएका थिए।