अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले क्यापिट हिल भवनमा पसेर हिंसात्मक प्रदर्शन गरे,१३ जना पक्राउ,  एकमहिलाको मृत्यु

तस्बिर; एएफपी

एजेन्सि- अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसा भड्काएका छन् । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा करफ्यु लगाइएको छ । स्थानीय समयअनुसार बुधबार साँझदेखि बिहीबार बिहानसम्म कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्प समर्थकले बुधबार   हिंसात्मक प्रदर्शन गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् । अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार अहिले क्यापिटल हिलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बुधबार अमेरिकी कंग्रेसले डेमोक्रेटक उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्ने कार्यक्रम थियो । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीका अनुसार बुधबार राथि इलेक्टोरल भोटको गणना हुनेछ । उनले भनिन्, ‘डेमोक्रेट नेताहरुका साथै पेन्टागन, न्याय विभाग र उपराष्ट्रपतिसँगको कुराकानीपछि हामीले आज राति प्रक्रिया पूरा गर्नेछौं ।’ यसैबीच अमेरकी क‌ंग्रेसमा बहस सुरु भएको छ ।

राष्ट्रपति ट्रम्पका समर्थकहरुले चुनाव रद्द हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप पनि भएको छ । स्थिति बिग्रँदै गएपछि नेसनल गार्डलाई पनि क्यापिटल हिल्स पठाइएको छ ।

१३ जना पक्राउ,  एकमहिलाको मृत्यु

क्यापिटल हिल्समा हिंसा मच्चाएको आरोपमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ । वासिङ्टन डीसी महानगरीय प्रहरीका अनुसार ५ थान बन्दुक पनि बरामद गरिएको छ । प्रहरी प्रमुख रोबर्ट कोन्टीका अनुसार पक्राउ पर्ने व्यक्तिहरु डीसी क्षेत्रका भने होइनन् । उनले झडपमा घाइते भएकाहरुको उपचार भइरहेको पनि बताएका छन् ।

बुधबार साँझ वासिङ्टन डीसीमा भएको झडपमा परी एक महिलाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार झडपमा प्रहरीको गोली लागी एक जना महिला घाइते भएकी थिइन् । स्थानीय अस्पतालमा उपचाररत उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तस्बिर; एएफपी

सामाजिक सञ्जालबाट ट्रम्पको भिडियो हटाइयो

क्यापिटल हिल्समा हिंसा मच्चिएपछि फेसबुक, युट्युब र ट्विटरले राष्ट्रपतिको सन्देशसहितको भिडियो हटाएका छन् । ट्रम्पले समर्थकलाई शान्ति कायम गर्न र घर फर्किन आग्रह गरे पनि चुनावी नतिजाका बारेमा गलत दाबी गरेका थिए । फेसबुकले भिडियो हटाएको बारे भनेको छ, ‘हामीले सन्तुलन कायम गर्नका लागि हटायौं किनकी यसले हिंसा घटाउनेभन्दा पनि बढाउने खतरा थियो ।’

हिंसा भड्किनुभन्दा पहिले ट्रम्पले वासिङ्टनका नेसनल मलमा आफूहरुबाट चुनावी नतिजा चोरिएको गलत दाबी गरेका थिए । त्यसको केही घण्टापछि ट्रम्पले पुनस् चुनावी नतिजाबारे गलत दाबी गर्दै भिडियो सन्देश सेयर गरेका थिए । युट्युबले चुनावका बारेमा अफवाह फैलाएका कारण भिडियो हटाएको स्पष्टीकरण दिएको छ ।

त्यस्तै पहिले भिडियोमा लाइक, कमेन्ट र रिट्वीट गर्न नमिल्ने बनाइए पनि ट्विटरले पनि पछि उक्त भिडियो हटाइदिएको छ । यसैबीच ट्विटरले ट्रम्पको एकाउन्ट रियल डोनाल्ड ट्रम्पलाई आगामी १२ घण्टाका लागि लक गरिदिएको छ । ट्रम्पले आचारसंहिताविपरीत गरेका ३ वटा ट्वीट नहटाए उनको एकाउन्ट लक भइरहने पनि ट्विटरले चेतावनी दिएको छ । त्यस्तै लगातार यस्तै झूटो दाबी गरिरहे उनको ट्विटर एकाउन्ट नै बन्द हुने सम्भावना रहेको पनि उसले चेतावनी दिएको छ ।

उपराष्ट्रपति पेन्सद्वारा हिंसाको कडा निन्दा

उपराष्ट्रपति माइक पेन्सले हिंसाको कहिल्यै जित नहुने भन्दै वासिङ्टनमा भएको प्रदर्शनको निन्दा गरेका छन् । ‘आज जसले क्यापिटलमा हिंसा मच्चाएका छन्, तिमीहरुले जितेका छैनौ । हिंसाको कहिल्यै जित हुँदैन,’ पेन्सले भने । उनको बुधबारको दिनलाई अमेरिकी इतिहासको कालो दिन भएको पनि प्रतिक्रिया दिएका छन् ।

त्यस्तै ट्रम्पले नै हिंसा भड्काउन सघाएको भन्दै रिपब्लिकन सांसदका साथै पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टनलगायतले पनि कडा आलोचना गरेका छन् । पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले त एक वक्तव्य जारी गर्दै यस प्रकारको ‘राजद्रोह’ पागलपन भएको प्रतिक्रिया दिएका छन् । उनले यस प्रकारको विवाद अमेरिकामा नभएर बनाना रिपब्लिक९असफल गणतान्त्रिक मुलुकमा मात्र देखिने ताएका छन् । बुसले आफ्नो वक्तव्यमा ट्रम्पको नाम नलिए पनि केही नेता हिंसाका लागि जिम्मेवार रहेको बताएका छन्