सल्यानका किशोरीलाई आत्म सुरक्षा तालिम

सल्यान – सल्यानको छत्रेश्वरी गाउँपालिकाले ६ सय किशोरीलाई आत्म सुरक्षा (सेल्फ डिफेन्स) तालिम दिएको छ। गाउँपालिकाको आर्थिक सहयोग र युथ अफ तुलसीपुरको व्यवस्थापनमा बलात्कार, महिला हिंसाजस्ता घटनाहरु न्यूनीकरण गर्न र यसबाट बच्न सकिने उपायबारे किशोरीहरुलाई जनचेतनामुलक आत्म सुरक्षा तालिम प्रदान गरिएको छ।

सल्यानमै पहिलोपटक सञ्चालन गरिएको कार्यक्रममा किशोरीहरुको आत्म सुरक्षासम्बन्धी प्रारम्भिक सीप सिकाइएको छ। एक विद्यालयमा एक साता तालिम दिएको हो। आत्म सुरक्षा तालिमले आत्मबल बढाउन निकै महत्वपूर्ण काम गरेको शारदा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत भगवती राणाले बताइन्।

छात्रा तथा महिलाहरुमा आत्मविश्वाश बढाउन र यौन दुर्व्यवहारविरुद्ध बोल्ने हिम्मत जुटाउन तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए। पछिल्लो समयमा बलात्कार तथा हिंसाका घटनाहरु बढ्दै जाँदा किशोरिहरु असुरक्षित बन्दै गएका कारण किशोरीहरुलाई आत्म सुरक्षा तालिम प्रदान गरिएको हो ।