एजेन्सी – अमेरिकी प्रतिबन्धलाई समर्थन गर्दै दक्षिण कोरियाली बैंकहरूले रकम रोकिदिएपछि इरानले स्ट्रेट अफ हर्मुजमा कोरियाली पानीजहाज (ट्याङ्कर) नियन्त्रणमा लिएको छ। सो जहाजमा रहेका चालक दलका २० सदस्यलाई पनि इरानले हिरासतमा राखेको छ।
कब्जा गरिएको एमटी हेंकुक चेमी नामक जहाज छाडिदिन इरानसँग कोरियाले आग्रह गरेको छ। दक्षिण कोरियाको सो जहाजले पर्यावरण कानुन उल्लंघन गरेको आरोप इरानले लगाएको छ।
अमेरिकी प्रतिबन्धलाई समर्थन गर्दै दक्षिण कोरियाली बैंकहरूले रकम रोकिदिनासाथ इरानले सो जहाज नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको जहाज छुटाउन एक वरिष्ठ अधिकारीलाई तेहरान पठाउन लागिएको सोउलले जनाएको छ।
दक्षिण कोरियाका विदेशमन्त्री कांग क्युंग वाले आफ्नो ट्याङ्कर छुटाउन इरानसँग कूटनीतिक प्रयास गरिरहेको बताएका छन्। सो जहाजको चालक दलका सदस्यमा इन्डोनेशिया, म्यान्मार, दक्षिण कोरिया र भियतनामका नागरिक छन्।
इरानले जहाज कब्जामा लिएपछि स्ट्रेट अफ हर्मुजमा एक ‘एन्टी पाइरेसी युनिट’ परिचालन गरेको कोरियाले जानकारी दिएको छ। दक्षिण कोरियाली नागरिकहरूको सुरक्षाका लागि यसो गरिएको सोउलका अधिकारीहरूले बताएका छन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ताले रासायनिक ट्याङ्कर कब्जा गर्नु यथोचित रहेको र यसले समुद्रलाई प्रदूषित गरेको बताएका छन्।