काठमाडौं – विवाहित महिलाहरुमा केन्द्रित सौदर्य प्रतियोगिता ‘मिसेस व्यूटी क्विन नेपाल’ २०२१ को आवेदन खुल्ला भएको छ । आयोजक सिजन मिडियाले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ ।
महिलाहरुको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि, वाककला तथा नेतृत्वदायी क्षमताको विकास गराउँदै समाजका लागि एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । कोभिडको महामारीलाई ध्यानमा राखेर यो कार्यक्रम सुरक्षित तवरवाट गरिने आयोजकले सिजन मिडियामा प्रबन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।
प्रतियोगिताको पहिलो चरणमा छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसनलगायत प्रशिक्षण दिइनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि विद्यामा भने कोरियोग्राफर रोजिन शाक्यले गु्रमिङ गर्नेछन् ।
प्रतियोगिताका विजेताले ‘मिसेस व्यूटी क्विन नेपाल २०२१’ को शीर्ष उपाधिका साथमा फ्रिज, टेलिभिजन, हिटरलगायत घरायसी सामानका अलवा सिंगापुर भ्रमणको ३ वटा हवाई टिकट र लेटमिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर जित्नेछन् । विभिन्न १५ विधामा उपविजेता चयन समेत हुने प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् ।