राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिँदैछ – प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् । प्रतिनिधसभाको शनिबारको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधिनताको विषय भएको बताए ।

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आएका छौं,’ दाहालले भने । प्रतिनिधिसभामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा दाहालले उक्त कुरा बताएका हुन् ।

दाहालले उक्त विधेयकमा नेपालीले जनाएको समर्थनमा आफ्नो पनि ऐक्यबद्बता रहेको बताए । उनले विधेयकमा सुरुदेखि सर्वसम्मति रहँदै आएको र अब पनि सर्वसम्मतिले पारित हुनेमा आफू विश्वस्त रहेको बताए ।