सल्यानमा किशोरीमाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

सल्यान – सल्यानको शारदा नगरपालिकाका १६ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ।

सामुहिक बलात्कार गरेको आरोपमा जिल्लाको शारदा नगरपालिका-४ का २२ वर्षीय सुरेश बस्नेत र २२ वर्षकै मनोज गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

आफन्तको घरमा बस्दै आइरहेकी किशोरीमाथि पुस ८ गते बलात्कार भएको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका छन् । उजुरी परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख गोविन्द थापाले बताए।

आमाबुबाको संरक्षणमा नरहेकी ती किशोरी आफन्तको घरमा बस्दै आइरहेकी थिइन्‌। प्रहरीका अनुसार पीडित किशोरीका आमा नरहेको र बुबा पनि रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेका छन्।

आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।