नयाँ प्रकारकाे कोरोना भाइरस अमेरिकामा पनि भेटियाे

एजेन्सि- अमेरिकामा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको छ।

तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरस कोलोराडो राज्यमा भेटिएको पुष्टि भएको बीबीसीले जनाएको छ। वेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसबाट संक्रमित भएका २० वर्षीय युवा हाल आइसोलेसनमा छन्। उनले पछिल्लो केही समय यात्रा पनि गरेका थिएनन्। उनको सम्पर्कमा आएकाको खोजी र नयाँ प्रकारको अन्य संभावित संक्रमणको पहिचानमा स्वास्थ्यकर्मीहरु जुटेको समाचारमा उल्लेख छ।

गत साता अमेरिकी स्वास्थ्य अधिकारीहरूले नयाँ प्रकारको भाइरस अमेरिका भित्रिसकेको हुनसक्ने आशंका गरेका थिए । हालसम्म भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिइसकेको छ।

 यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन्। यसैबीच, अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले कोरोनाभाइरस विरुद्धको खोप वितरण गर्ने कार्य समय तालिका भन्दा पछि परेको भन्दै ट्रम्प प्रशासनको आलोचना गरेका छन्।

ट्रम्प प्रशासनले डिसेम्बर सम्ममा २ करोड अमेरिकीहरूलाई खोप लगाउने लक्ष्य राखेको थियो। तर हालसम्म २१ लाख मानिसले मात्रै खोप लगाएको अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले जनाएको छ।