सल्यान – सुर्खेतको सिम्ता वहुमुखि क्याम्पसको वार्षिकोत्सव तथा आठौं साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले नेत्रलाल महतारालाइ क्याम्पस सञ्चालक समितिको अध्यक्षमा छनोट गरेको छ । महताराको अध्यक्षतामा ११ सदस्य सञ्चालक समिति गठन भएको हो ।
साधारणसभामा आर्थिक प्रतिवेदन पेश गर्नुका साथै सामाजिक प्रगति विवरण प्रस्तुत गरेको निवर्तमान अध्यक्ष कविन्द्रकुमार केसीले बताए । विद्यार्थी नियमित नहुनु, भौतिक साधन अभाव, विद्यार्थी स्वअध्ययनको बानी नहुनु जस्ता समस्याबारे साधारण सभामा छलफल भएको थियो ।
उक्त कुरा प्रतिवेदनमा समेत उल्लेख गरिएको छ । मुद्दा तथा चुनौतीहरु सामाना गर्न र न्युनिकरण गर्ने प्रयासका बारेमा कठोर मेहनत गरेको अध्यक्ष केसीको भनाइ छ । क्याम्पस स्थापनाका लागि केसीले बैंकमा घर धितो राखेर क्याम्पस स्थापना गर्न सफल भएको जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति उप सभापती टेकबहादुर सिंहले सबैको सहयोगबाट क्याम्पस बनाउन जरुरी रहेको बताए । साधारणसभामा चन्दादाता तथा भुमिदाता गणेश रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । क्याम्पस प्रमुख वकिल वस्नेतका अनुसार सभामा क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक अवस्थाको बारेमा जानकारी गराईएको थियो ।