सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत स्थित भैरव जनजागरण सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध महिलाहरुको आयआर्जन बढाउन दुना टपरी उद्योग सञ्चालन गरिएको छ ।
वन उपभोक्ता समूहमा आवद्ध स्थानीय महिलाहरुलाई टुना टपरी बनाउने काम दिएर स्वरोजगार बनाउनुका साथै आयआर्जन बृद्धि गर्न उद्योग सञ्चालन गरिएको हो ।
भैरव जनजागरण सामुदायिक वन उपभोक्ता समूह र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा सामुदायिक पूर्वाधार तथा जिविकोपार्जन कार्यक्रम अन्तर्गत दुना टपरी उद्योग सञ्चालन गरिएको छ ।
उद्योग सञ्चालनका लागि यूएनडिपी र वीरेन्द्रनगर नगरपालिकाले सहयोग गरेका छन् । यूएनडिपी र वीरेन्द्रनगर नगरपालिकाको बराबर सहयोगमा दुना टपरी बनाउने मेसिन खरिद गरेर स्थानीयलाई हस्तान्त्रण गरिएको हो ।
आईतबार एक औपचारिक कार्यक्रमकाबिच मेसिन हस्तान्त्रण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताए । उनका अनुसार स्थानीय स्तरमा उपलब्ध सामाग्रीको आधारमा सालको पातबाट दुना टपरी बनाईने छन् ।
उक्त दुना टपरीहरु हालका लागि वीरेन्द्रनगरमा र भविष्यमा बाह्य जिल्लासम्म निर्यात गर्ने तयारी छ । महिलाहरुले दुना टपरी बनाएर आयआर्जन गर्नथालेपछि उनीहरुको घरखर्च सञ्चालन तथा व्यक्तिगत खर्चमा सहज हुने अपेक्षा गरिएको छ ।