काठमाडौं—नेपालमा ५३ जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबार देशभरका विभिन्न अस्पतालहरुमा ५३ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।
जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा ८ जना र कर्णाली प्रदेशमा २ जना, प्रदेश २ मा ३ जना र १ नंं. प्रदेशमा ४ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ । यस्तै, देशभर २ सय ३५ जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ ।
मन्त्रालयकाअनुसार बागमती प्रदेशमा ८२ जना, गण्डकी प्रदेशमा ७२ जना कोरोना संक्रमितले आइसीयुमा उपचार गराइरहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ५२ जना, १ नं. प्रदेशमा १२ जना, २ नं. प्रदेशमा ४ जना, सुदूरपश्चिम प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १० जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा ३ हजार ७७ जना संक्रमित होमआइसोलेशनमा रहेका छन्। नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १ हजार ८ सय २५ जना संक्रमितको मृत्यु भैसकेको छ ।