सहकारीले दिन थाले गाउँमा आधारभूत स्वास्थ्य सेवा

 जुम्ला-चन्दननाथ बहुउद्देश्यीय सहकारी जुम्लाले स्वास्थ्य सेवा दिन थालेको छ । सहकारीले बहुउद्देश्यअन्र्तगत स्वास्थ्य सेवा पनि दिन थालेको हो ।

यहाँको ग्रामीण भेग पातारासी गाउँपालिका–५ लासी बजारमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी स्वास्थ्य सेवा सुचारु गरेको सहकारी संस्थाका व्यवस्थापक ऋषिराम पाण्डेले बताए । उनले भने, ‘सहकारी ऐन नियमअनुसार बहुउद्देश्यीय संस्थाले उद्देश्यअनुसार काम गर्नुपर्ने भएकोले स्वास्थ्य सेवा पनि सञ्चालन गरिएको हो ।’

पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले गाउँपालिका वासीलाई न्यूनतम आधारभुत स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन सहज हुने बताए । उनले भने, ‘स्वास्थ्य सेवा केन्द्रको स्थापना गरि सहज रुपमा न्यूनतम स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाले पनि समन्वय गरेको हो ।’ सहकारीले पातारासी गाउँपालिकाका स्थानीयको कार्य, सेवा र सुविधा प्रति चुस्त दुरुस्त तवरले घरदैलोमा पुगेर सेवा दिन उनले आग्रह गरे ।

यस्तो सहकारी संस्थाको लागि गाउँपालिकाले सधैभरी सहकार्य र समन्वय गरेर जाने उनले प्रतिबद्धता जनाए । स्वास्थ्य सेवा केन्द्र स्थापनाको पहिलो दिन शिविर सञ्चालनमा २ सय २० जनालाई निःशुल्क चेकजाँच गरिएको छ । संस्थाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. खुस्बु मिश्रसहित ६ जनाको चिकित्सक टोली लिएर शिविर सञ्चालन गरेको हो । यसका साथै गाउँमा माक्स, स्यानिटाइजर निःशुल्क वितरण गरिएको छ ।