काठमाडौं – क्यालिफोर्नियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जसमा कोरोनाका एक बिरामीले अर्को बिरामीको हत्या गरेको बताइएको छ ।
३७ वर्षका एक बिरामीमाथि यो सिलसिलामा हत्या र हेट–क्राइमको मुद्दा दर्ता भएको छ ।
प्राप्त खबर अनुसार ३७ वर्षका जेस मार्टिनेजले ८२ वर्षका अर्का एक बिरामीलाई अक्सिजन सिलिन्डरले हाने जसका कारण उनको मृत्यु भएको छ ।
लस एन्जिल्स प्रहरीका अनुसार वृद्ध बिरामीले जब कोठामा पूजा गर्न सुरु गरे तब जेसलाई मन परेन र वृद्धको क्रियाकलाप देखेर उनलाई असाध्यै रिस उठ्यो ।
जसका कारण जेसले अक्सिजन सिलिन्डर उठाएर ती वृद्धमाथि प्रहार गर्दा उनको मृत्यु भएको आरोप लागेको छ ।
प्रहरीका अनुसार कोठामा यी दुई बिरामीले एक–अर्कालाई चिन्दैनथे र यी दुबैको कोरोनाको उपचार चलिरहेको थियो ।
घटना गत हप्ताको हो । यसको सिलसिलामा जेसलाई अब हिरासतमा लिइएको छ ।
क्यालिफोर्नियामा पछिल्लो ६ हप्तामा कोरोनाका एक लाख नयाँ संक्रमित भेटिएका छन् ।
यसले गर्दा अस्पतालमा दबाब परिरहेको छ जहाँ बेड कम र संक्रमिको संख्या अत्यधिक देखिएको छ ।