एजेन्सि- इजरायलमा कोरोनाको महामारी थप फैलिन नदिन तेस्रो चरणको पूर्ण लकडाउनको घोषणा गरिएको छ ।
आउँदो आइतबारदेखि लागू हुने लकडाउन देशव्यापी हुने इजरायलको प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तेस्रो चरणको पूर्ण लकडाउन तत्काल दुई हप्ताका लागि हुनेछ । तर आवश्यकताअनुसार लम्ब्याउन पनि सकिने विज्ञप्तिमा उल्लेख छ । लकडाउन अन्तर्गत घरदेखि एक हजार मिटरभन्दा बढी टाढा जान पाइनेछैन । एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि पाइनेछैन ।
लकडाउनका बेलामा तल्लो तहमा पूर्व प्राथमिक, कक्षा एकदेखि ४ सम्म र माथिल्लो तहमा कक्षा ११ र १२ का पढाइ मात्रै सञ्चालन गर्न दिइने भएको छ । इजरायलमा दैनिक चार हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् ।
दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा कम नहुँदासम्म लकडाउन कायमै रहने खबरमा उल्लेख छ । व्यावसायीक तथा व्यापारिक कार्यालयहरू बन्द हुनेछन् तर अत्यावश्यक सेवाका कार्यालय भने खुल्नेछन् । काम गर्नेहरूलाई घरबाटै काम गर्न भनिएको छ । सार्वजनिक ठाउँमा भीडभाड गर्न पाइनेछैन ।
सार्वजनिक गाडीमा आधा संख्यामा मात्रै यात्रु रहने व्यवस्था छ ।