कञ्चनपुर काे लालझाडी गाउँपालिका अध्यक्षलेखर्च धान्न निकै अप्ठेरो परेका छात्रकाे शैक्षिक अभिभावकत्व आफैं लिए

 

कञ्चनपुर-लालझाडी गाउँपालिका ४ डाडाँजाइका रवि विक कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने छात्र हुन्‌। रविले शैक्षिकशत्र २०७६ मा गाउँपालिकामै सबैभन्दा बढी अंक ल्याएका छन्‌। पढ्न अब्बल रहेका उहाँ कक्षामा सधै प्रथम हुदै आएका छन्‌।

परिवारका सदस्यले मजदुरी गरी ल्याएको रकम जोहो गरी कक्षा ८ सम्म पढाएपनि माथिल्ला कक्षा पढाउन निकै समस्या थियो। परिवारकै खर्च धान्न निकै अप्ठेरो परेको बेला रविलाई माथिल्ला कक्षामा पढाउने हिम्मत नै नभएपछि परिवारले विद्यालयमा भर्ना गरिदिन सकेको थिएन।

विद्यालयका प्रधानाध्यापकले वडा अध्यक्षलाई यसबारे खबर गरेका थिए। वडा अध्यक्षले गाउँपालिका अध्यक्षलाई रविको पारिवारिक अवस्थाबारे बेलीविस्तार लगाए।

गाउँपालिका अध्यक्ष मदनसेन वडायकले आर्थिक अभावले विद्यालय भर्ना हुन नपाएका रविका परिवारजनसँग भेट गरे। घरमै पुगेर परिवारको अवस्थाबारे जानकारी लिए।

‘दुर्गम गाउँको छेउमा झुपडीमा बस्ने विक परिवारको अवस्था निकै दयनीय रहेछ,’ अध्यक्ष वडायकले भने, ‘परिवारले आर्थिक अभावले माथिल्ला कक्षा पढाउन नसकिने दुस्खेसो पोखेपछि निकै भावक भएँ, अहिले उनको शैक्षिक अभिभावकत्व आफैंले लिएको छु।

विद्यालयमा लाग्ने सबै खर्च व्यक्तिगत तवरबाट व्यहोर्ने गरी रविलाई गाउँपालिका अध्यक्षले स्वतन्त्र माध्यमिक विद्यालय पर्सियामा कक्षा ९ मा भर्ना गरी पढ्ने व्यवस्था मिलाइदिएका छन्‌। उनले रविलाई कक्षा १० सम्म पढाइदिनेछन्‌। ​पढाइका लागि आवश्यक पोशाक, कापी, किताब लगायत खर्च अब अध्यक्ष वडायकले नै व्यहोर्ने छन्‌।

‘गाउँपालिकाका कुनै पनि बालबालिकाले आर्थिक अभावकै कारण पढ्नबाट बञ्चित हुनुपर्दैन,’ उनले भने, ‘यस्ता बालबालिकाहरूलाई विद्यालय भर्ना गरी पढाई खर्च व्यवस्थाका लागि समाजका सबैले पहल गर्नुपर्छ।’

अर्को वर्ष उत्कृष्ट अंक ल्याउने छात्रछात्राको समेत अभिभावकत्व ग्रहण गर्ने अध्यक्ष वडायकले प्रतिबद्धता जनाएका छन्‌। आर्थिक रूपले विपन्न परिवारको आर्थिक अवस्था सुधार्न स्वरोजगारमूलक कार्यक्रममा सहभागी गराइने उनले बताए। यसका लागि गाउँपालिकाले योजना बनाएको उनको भनाई छ।

स्वतन्त्र मावि पर्सिया प्रविधि मैत्री विद्यालयका रूपमा परिचित छ। सो विद्यालयमा प्रोजेक्टरको माध्यमबाट पठनपाठनको कार्य हुँदै आएको छ। रवि सोही विद्यालयमा कक्षा ४ देखि पढ्दै आएका छन्‌। (थाहाखबर)