थाहै नदिइ प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य बनाएको भन्दै केही नेताले गरे पद अस्वीकार (नामावलीसहित)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहमा नेकपाको केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै केही सदस्यहरुले पद अस्वीकार गर्न थालेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरिएको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ४ सय ४६ केन्द्रीय समिति रहेको नेकपामा सदस्य थप गर्दै ११ सय ९९ केन्द्रीय सदस्य बनाइएको थियो । सो बारे निर्वाचन आयोगलाई समेत जानकारी गराइएको थियो ।

संविधानसभा सदस्य समेत रहेका ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वज तुम्बाहाम्फेले एक विज्ञप्ति निकाल्दै आफूलाई थाहै नदिइ केन्द्रीय कमिटीमा राखेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले थाहै नदिइ केन्द्रीय कमिटीमा राखेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले भनेका छन्–‘मलाई थाहै नदिई मेरो नाम केपी शर्मा ओली समूहको केन्द्रीय सदस्यमा राखिएको प्रति मेरो असहमति रहेको ब्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैमा जानकारी गराउँदछु । साथै म पार्टीको बहुमत केन्द्रीय सदस्यहरुले प्रतिनिधित्व गरेको अर्थात प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नै आवद्ध रहेको ब्यहोरा सबैलाई जानकारी गराउँछु ।’

आफ्नो पक्षमा बहुमत सदस्य देखाउन बिना जानकारी केन्द्रीय समिति सदस्यमा राखेको प्रति अस्वीकार जनाउँदै यतिबेला धमाधम विज्ञप्ति निकाल्न थालेका छन् ।
ताप्लेजुङ्का तुम्बाहाङ्फेले जस्तै झापाका गोपाल बुढाथोकीले पनि पद अस्वीकार गरेका छन् । प्रदेशको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छिन् ।
यी हुन् केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरु
१) डम्बरध्वज तुम्बाहाम्फे–ताप्लेजुङ
२) गोपाल बुडाथोकी–झापा
३) जसमाया गजमेर–प्रदेश १ सामाजिक विकास राज्यमन्त्री
४) ज्ञानेन्द्र श्रेष्ठ–उदयपुरको कटारी नगरपालिका प्रमुख
५) सुन्दर वि.क.–नेकपा बारा जिल्ला सचिव
६) कमलेश झा–नेकपा प्रदेश २ सदस्य
७) भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य
८) बृहस्पति अधिकारी–नवलपरासी
९) जागेश्वरीदेवि चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख
१०) अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य

डम्बरध्वज तुम्बाहाम्फेको विज्ञप्ति