नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेदेखि बैठक सुरू हुने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि दिउँसो १ बजेदेखि  सुरू हुनेछ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठक आज पनि निरन्तर जारी रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा संसद विघटन गरेपछि उक्त घटनालाई लिएर सडक आन्दोलनमा जाने कि नजाने भन्ने नै कांग्रेस बैठकको मुख्य एजेन्डा हो।

मंगलबार सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम निरंकुश र असंवैधानिक भएकोले साथ दिन नसकिने बताएका थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको भर पर्न नहुने भन्दै ओलीको कदमविरूद्ध प्रतिरोध गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेसमा ११७ जना केन्द्रीय सदस्य छन्। सबै केन्द्रीय सदस्यलाई धारणा राख्न समय दिइने कांग्रेसले जनाएको छ। यसकारण बैठक अझै केही दिनसम्म चल्नेछ।

प्रधानमन्त्री ओलीको कदमविरूद्ध सर्वोच्चमा रिट परेको छ। सर्वोच्चले के आदेश दिन्छ त्यो हेरेर मात्रै कांग्रेसले आगामी रणनीति तय गर्न लागेको छ। (सेतोपाटि)