मन्त्रिपरिषदको निर्णय ट्राफिकलाई थाहा छैन, ११ सय सवारी ‘होल्ड’मा

बिहीबार बिहान देखिनै उपत्यकामा चहलपहल बढ्यो। बुधबार रातिको मन्त्रिपरिषद् बैठकले तीन चरणमा लकडाउन खुकुलो बनाउँदै जाने निर्णय गरेको थियो। निजी सवारीसाधनहरू पनि जोर– बिजोर गरी चलाउने निर्णय गर्‍यो।

त्याे निर्णयका बावजुद पनि बिहीबार भने थुप्रै संख्यामा सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लियो। जसकारण ट्राफिक प्रहरी नै सरकारको निर्णयविपरित अघि बढेको भन्दै कतिपयले आक्रोश समेत पोखे।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिउँसो १२ बजेसम्म लकडाउनको अवज्ञा गर्ने १ हजार १ सय ३३ सवारीसाधनलाई नियन्त्रणमा लियो। जसमध्ये एक हजार तीन दुई पाङग्रे थिए भने बाँकी ३० चार पाङग्रे।

किन यसरी नियन्त्रणमा लिइयो भन्ने प्रश्नमा महाशाखाका प्रवक्ता तथा एसपी जीवनकुमार श्रेष्ठले मन्त्रिपरिषदको निर्णयबारे औपचारिक जानकारी नआएको बताए।

‘हिजोको मन्त्रिपरिषद बैठकले गरेको निर्णय विभिन्न सञ्चारमाध्यममा आए। सर्वसाधरणले पनि त्यही समाचार पढेर बाहिर निस्किए तर औपचारिक जानकारी भने आएको छैन,’ एसपी श्रेष्ठले भने, ‘सरकारको निर्णय प्रवक्ता मार्फत दिनुपर्ने हो। उहाँले पनि दिनुभएको छैन।’

मन्त्रिपरिषद्को बैठक बुधबार राति १० बजे सकिएको थियो। बिहीबार देखि नै मन्त्रिपरिषदका निर्णय लागू हुने गरी निर्णय गरिएपनि सरकारले पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएको छैन।

‘सवारीसाधनहरू थुप्रै निस्किएका छन्,’ उनले भने, ‘तर हामीले कडाइका साथ चेकिङ गरेर अनावश्यक काम बिना नै निस्किएकालाई नियन्त्रणमा लिइएको हो।’

यसरी नियन्त्रणमा लिइएका सवारीसाधनहरूलाई ट्राफिक प्रहरीले होल्ड गरेर राति सात बजे पछि मात्रै छाड्ने गरेको छ। एसपी श्रेष्ठले पनि सरकारले औपचारिक रूपमा जानकारी आएपछि मात्रै त्यसअनुसार अघि बढ्ने बताएका छन्।