एकै वर्षमा तीन अभिभावक गुमाएका १२ वर्षीय बालकलाई आर्थिक सहयोग

मुगु – मुगुका एक बालकले एक वर्षमा बुबा, बाजे र बज्यै गुमाए । १२ वर्षकै उमेरमा तीन जना अभिभावक गुमाएपछि घरको जिम्मेवारी उनको काँधमा आयो । आर्थिक समस्याले उनलाई दैनिकी गुजार्न समस्या थपिँदै गए ।

अभिभावक गुमाउदा घरवार चलाउनुका साथै लालनपालन, शिक्षा, स्वास्थ्य र आवास नै गुमेको थियो । छाँयानाथ रारा नगरपालिका–११ ¥याङ्गचेकाटीका १२ वर्षीय बालक युवराज कुमाललाई सहयोगी मनहरुले भने आर्थिक सहयोग गर्न थालेका हुन् ।

देश तथा विदेशमा रहेका सहयोगी मनले दुई लाख २१ हजार पाँच सय रुपैयाँ सहयोग जुटेको छ । संकलित रकम नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बालकको घरमा पुगेर हस्तान्तरण गरेका छन् ।

यस्तै, नगरपालिकाले कपडा र खाद्यन्न तथा ग्रामिण युवा तथा समाज विकास केन्द्र (हिरिसडेक) मुगुका अध्यक्ष मुकुन्द रावलले झोला, न्यानो कपडा समेत सहयोग गरेका छन् ।

कमाउने मुख्य व्यक्तिले संसार छाडेर गएपछि साना छोराछोरीलाई हुर्काउन निकै समस्या थियो,’ युवराजकी आमा सौमती कुमालले भनिन्, ‘सहयोग गर्नेहरु मेरा भगवान हुन्, यो रकमले बालबालिकाको शिक्षा र लालनपालनमा खर्च गर्नेछु ।’

आर्थिक अवस्था दयनिय भएको आफ्नो परिवारमा उक्त रकमले घर खर्च चलाउन र आफूलाई पढ्नमा सहयोग पुग्ने भन्दै युवराजले सहयोगी मनलाई धन्यवाद दिए ।

‘आमाको कमाईले मात्रै घर चलाउने सहज थिएन्,’ युवराजदे भने, ‘कहिल्यै नदेखेको यति ठूलो रकमले मेरो र मेरा भाइबहिनीको बाँकी पढाई पूरा गर्नमा सहज बनाइदिएको छ ।’