आजदेखि काठमाण्डौ उपत्यकामा  गाडीमा लागू गरिएको जोर-बिजोर प्रणाली हट्याे

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आजदेखि गाडीमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ ।

अन्य क्षेत्र खुले पनि यातायात क्षेत्र पूर्ण रुपमा नखुलाइएको भन्दै यातायात व्यवसायीले जोर-बिजोर प्रणाली नमान्ने बताएपछि आजदेखि यो प्रणाली हटाइएको हो ।

व्यवसायीको चौतर्फी दबाबपछि हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भएको सरोकारवालाहरुको छलफलले आजदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो ।

जोर-बिजोर प्रणाली हटाइए पनि कोरोना सङ्क्रमणकाे जोखिम रहेका कारण गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ । व्यवसायीले मापदण्ड पालना नगरि गाडी चलाएमा अनुगमन गरी त्यस्ता व्यवसायीहरुलाई कारबाही गरिने काठमाण्डौ जिल्ला प्रशासनले चेतावनी दिएको छ ।

गाडी सञ्चालकहरुले सङ्क्रमणकाे अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ को पूर्ण पालना भए-नभएको सम्बन्धमा ट्राफिक प्रहरीलगायतका निकायले अनुगमन गर्ने प्रशासनले जनाएको छ ।(उज्यालो)