केन्याका नागरिकमाथि ९/११ जस्तो हमलाको षड्यन्त्र रचेको आरोप

काठमाडौं – अमेरिकाको अनुसन्धान एजेन्सी एफबीआईले केन्याका एक नागरिकमाथि ९/११ जस्तो हमलाको षड्यन्त्र रचेको आरोप लगाएका छन् ।

आबदी अब्दुल्लाह नामका एक केन्याली नागरिक फिलिपिन्सको फ्लाइट स्कूलमा भर्ना भएका थिए।

उनलाई गत वर्ष फिलिपिन्समा हतियार राखेको आरोपमा पक्राउ गरिएको थियो ।

एफबीआईका अनुसार उनले एक हवाईजहाज अगुवा गरेर अमेरिकाको कुनै अग्लो भवनसँग ठोक्काउने योजना बनाइरहेका थिए ।

उनलाई मंगलबार फिलिपिन्सबाट अमेरिका ल्याइएको थियो । अमेरिकामा उनीमाथि हवाई जहाज अगुवा गरेर अमेरिकी नागरिकको हत्याको षड्यन्त्र रचेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

एफबीआईका अनुसार आबदी अब्दुल्लाह सोमालियोमा सक्रिय चरमपन्थी संगठन अल–शहाबका एक वरिष्ठ अधिकारीको निर्देशनमा काम गरिरहेका थिए ।

यद्यपि, उनले आफूमाथि लागेको सबै आरोप अस्विकार गरेका छन् ।

बुधबार अदालतको सुनुवाईको क्रममा बचाउ पक्षका वकिललले अदालतले जनवरीसम्म घटनाको सुनुवाई नहुञ्जेल उनलाई हिरासतमा राख्ने कुरा स्विकार गरेका छन् ।