कोरोना संक्रमणबाट एजवाटिनीका प्रधानमन्त्रीको निधन

काठमाडौं – अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको कोरोना संक्रमणका कारण निधन भएको छ।

चार हप्ता पहिले कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री ड्लामिनीको आइतबार दक्षिण आफ्रिकाको एक अस्पतालमा निधन भएको हो। कोरोना संक्रमित भएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो।

त्यसपछि उनलाई छिमेकी देश दक्षिण अफ्रिकामा उपचारका लागि लगिएको थियो। उनको त्यहिँ निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।

उनी सन् २०१८ को नोभेम्बरमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। अफ्रिकाको दक्षिण क्षेत्रमा रहेको झण्डै १२ लाख जनसंख्या युक्त देश एजवाटिनीमा अहिलेसम्म ६ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ र १२७ जनाको कोभिड–१९ का कारण निधन भएको छ।