उपराष्ट्रपतिसँग बंगलादेशका नवनियुक्त राजदूतको शिष्टाचार भेट

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन् । सोमबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ ।

भेटमा उपराष्ट्रपति पुनले बंगलादेश नेपालको घनिष्ठ मित्र राष्ट्र भएको बताए । उनले स्वतन्त्रतापछि बंगलादेशले हासिल गरेको प्रगतिका लागि बधाई दिँँदै बंगलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौं राष्ट्र भएको स्मरण गरे ।
उपराष्ट्रपतिले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणले नेपाल र बंगलादेशको सम्बन्ध अझै उचाईमा पुगेको उल्लेख गर्दै नवनियुक्त राजदूत चौधरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ् र विस्तार हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिले वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा दुई देशले बलियो सहकार्य गर्नुपर्ने बताउँदै यसबीचमा आउने साझा समस्या र चुनौतीहरुको साझा रुपमै सामना गर्नुपर्ने बताए ।
उपराष्ट्रपतिसँगको भेटमा बंगलादेशका राजदूत चौधरीले नेपाल बंगलादेशको अत्यन्तै घनिष्ठ मित्र राष्ट्र भएको बताए । बंगलादेशको स्वतन्त्रतापछि नेपालले गर्दै आएको सहयोगका लागि धन्यवाद दिंदै उनले बंगलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौं राष्ट्र भएको बंगलादेशी जनताले कहिल्यै नबिर्सने बताए ।

उनले बंगलादेशका राष्ट्रपतिको भ्रमणले दुई देशबीचको समन्ध थप मजबुत बनेको उल्लेख गर्दै नेपाल आउनुअघि भएको भेटमा राष्ट्रपति हमिदले आफ्नो नेपाल भ्रमणको क्रममा पाएको न्यानो आतिथ्यता र स्वागत सत्कारका लागि नेपाली नेता र जनतालाई कृतज्ञता सुनाइ दिनु भनेको बताए ।

राजदूत चौधरीले वाणिज्य र पर्यटनमा नेपालसँग बंगलादेशले सहकार्य विस्तार गर्न चाहेको पनि सो क्रममा बताएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।