एजेन्सि – बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शनिबार साँझसम्म ६४ हजार नाघेको छ । युरोपभरिमा कोरोनाका कारण मृत्यु हुने संख्याका आधारमा अग्रस्थानमा रहँदै आएको बेलायतलाई इटालीले उछिनेको छ ।
इटाली बेलायत भन्दा ३५० जना अघि छ । इअतालिमा शनिबार साँझसम्ममा मृतक संख्या ६४ हजार ५२० पुगेको वर्ल्डओमिटरले जनाएको छ । मृतक संख्याको आधारमा बेलायत अमेरिका, ब्राजिल, भारत, मेक्सिको र इटालीपछि छैटौं स्थानमा पर्दछ ।
बेलायतमा पछिल्लो २४ घन्टामा थप १४४ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ हजार १७० पुगेको छ ।
बेलायतमा सामान्यतया वीकेन्डमा सार्वजनिक हुने मृतक संख्या अन्य दिनहरुको तुलनामा निकै कम हुने गर्दछ । शुक्रबार ५१९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
यसैगरी पछिल्लो २४ घन्टामा थप १८ हजार ४४७ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार संक्रमित संख्या २१ हजारभन्दा बढी रहेका थिए । बेलायतमा कुल संक्रमितको संख्या १८ लाख ४९ हजार ४०३ पुगेको छ ।
विश्वभरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ लाख नाघेको छ भने संक्रमितको संख्या पनि करिब ७ करोड २४ लाख पुगेको छ ।