राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु

 

काठमाडौं – राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु भएको छ। विश्वकप फुटबल छनोटको तयारी स्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबारदेखि प्रशिक्षण सुरु गरेको हो।

एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागि गराएको छ। फुटबल टिमका कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जनले चैत १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसँग हुने प्रतिस्पर्धाकाको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरिएको बताए।

पूर्वकप्तान विराज महर्जनले लामो समयपछि प्रशिक्षणमा सहभागी हुन पाउँदा खुशी लागेको बताए। विश्वकप छनोटका लागि पर्याप्त समय रहेकाले पनि राम्रो नतिजा ल्याउने गरी प्रशिक्षण अगाडि बढ्ने विश्वास व्यक्त गरे।

एसियन छनोटअन्तर्गत समूह ‘बी’मा नेपाल, अस्ट्रेलिया, कुवेत, जोर्डन, चाइनिज ताइपेई रहेका छन्। अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा रहेको छ भने कुवेत र जोर्डन १० अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने नेपाल तीन अंकसहित चौथो स्थानमा रहेको छ।

कोभिड संक्रमणको जोखिमका कारण खेलाडिहरु गत चैत महिना यता कुनै पनि प्रशिक्षणमा सहभागी हुन पाएका थिएनन्। तर, गत शुक्रबार एएफसीले विश्वकप छनोटको बाँकी खेल तालिका सार्वजनिक गरेपछि एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेको हो। प्रशिक्षणमा सहभागी हुनुभन्दा पहिला सबै खेलाडीको पिसिआर परीक्षण गरिएको थियो।