ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति कलंकीमा ट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोज्ने ट्रक चालक बुद्धि बहादुर विकलाई पक्राउ गरिएको हो ।

लाइसेन्स बिना ना.४ ख ४८८६ नम्बरको भाडाको ट्रक चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर विक भाग्न खोजेका थिए ।

तर ट्राफिक प्रहरीले सोही बेला उनलाई नियन्त्रणमा लिएर चेक गर्दा उनीसँग लाइसेन्स नभएको महानगरीय ट्राफिक प्रभाग कलंकीका प्रमुख पुरुषोत्तम कार्कीले बताए ।

‘भाडाको ट्रक रहेछ, बिल बुक पनि नवीकरण भएको रहेनछ,’ उनले भने । कार्कीका अनुसारट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

कलंकी ट्राफिक कार्यलय अगाडिको सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान निरज थापालाई ट्रक चालक विकले घुस दिन खोजेका थिए ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेकोले विकलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ ।