गणतन्त्र कार्यान्वयनका चुनौती पार लगाउने तागत बोकेका छौँ : प्रचण्ड

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा देखिएका चुनौती पार लगाउने तागत पनि राजनीतिक दलहरूसँग रहेको बताएका छन्। पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

‘गणतन्त्र र धर्म निरपेक्षताको संघीय लोकतान्त्रिक गणतन्त्रमा ल्याउन कम्युनिस्ट पार्टीको ठूलो योगदान छ। योगदानको रक्षा गर्दै विकास गर्ने यात्रातिर अघि बढिरहेका छौँ’ उनले भने, ‘यही बीचमा केही चुनौती आउँछन् त्यसलाई पार लगाउने तागत पनि हामीसँग छ। त्यसको सामना गर्दै अघि बढ्छौँ।’

कार्यक्रममा उनले समाजवाद उन्मुख राज्यको मुख्य जिम्मेवारी कम्युनिस्ट पार्टीमा रहेको पनि बताए। ‘समाजवाद उन्मुख राज्यको मुख्य जिम्मेवारी कम्युनिस्ट पार्टीमा हो। पार्टीभित्र यसको बिषयमा छलफल बहस चलिरहेको छ’ उनले भने, ‘पार्टीभित्रको चल्ने बहस पनि समाजवाद उन्मुख विषयमै मात्रै बहस हुन्छ।’

पार्टीभित्र कस्तो विधि विधानमा अघि बढ्ने भन्नेबारे पार्टीभित्र बहस चलिरहेको उनले प्रष्ट्याए। पार्टीभित्र कस्तो विधि र विधानमा अघि बढ्ने भन्नेबारेमा अझै बहस भइरहेकाे छ उनले भने।

यस्तै, कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले जनताको विश्वासलाई कहिल्यै निराशा हुन नदिने बताए। जनताको विश्वास निराश हुने छैन। देश र जनताको मुक्तिको लागि सबै नेपाली सुखी र समृद्ध पार्ने लागि हामी लागिरहेका छौँ उनले भने, जनताको सपना साकार पार्ने कुरामा आफ्नो आशा राखेका छौँ।’ थाहाबाट ।