नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने

 

  मकवानपुर – नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू हुने गरी सबैभन्दा पहिलोपटक गर्न लागिएको बताइएको छ ।

पत्रकार महासङ्घ मकवानपुर शाखाका अनुसार कार्यसमिति बैठकबाट ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि, २०७७ पास गर्दै प्रतिपत्रकार मासिक रु चार हजारको दरले पेन्सन दिनका लागि थप प्रक्रिया कार्य अघि बढाइएको हो ।

पेन्सन दिनका लागि यसअगावै हेटौँडा उपमहानगरपालिकाले कोषमा रु १० लाख उपलब्ध गराइसकको छ । उक्त रकम पत्रकार महासङ्घ मकवानपुर शाखाले वाणिज्य बैंकमा यसअघिनै खोलिएको खातामा जम्मा गरिएको छ ।

यही बैंकमा यसअघि मुद्दति खातामा रहेको रु दुई लाखसमेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको रु १० लाखको ब्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए ।पेन्सनसम्बन्धी कार्यविधिलाई महासङ्घको यही मङ्सिर २६ गतेको साधारणसभाले पारित गर्नेछ ।

महासङ्घ मकवानपुर शाखामा आबद्ध सदस्यमध्ये ज्येष्ठ सदस्यको वृत्तिविकास गर्नका लागि पेन्सन दिन लागिएको हो । लगातार २० वर्ष मुख्य पेशा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन लागिएको हो ।