लकडाउनमा श्रीमतीसँग झगडा परेपछि ४५० किलोमिटर पैदलयात्रा

कोरोना महामारीविरुद्ध लगाइएका लकडाउनका बेला श्रीमतीसँग झगडा परेपछि इटलीका एक व्यक्ति दिमाग शान्त पार्न घरबाट निस्किए, तर हिँड्दा–हिँड्दै उनी ४५० किलोमिटर पर पुगे।

यतिखेर इटलीका सोसल मिडियामा यी व्यक्तिको निकै चर्चा भएको छ। मानिसहरुले उनलाई ‘फरेष्ट गम्प’ उपनाम दिएका छन्। फरेष्ट गम्प सन् १९९४ मा बनेको मनोरञ्जनात्मक व्यंग्य नाटक हो, जसका नायकले हजारौं किलोमिटर दौडँदै पूरै अमेरिका छिचोलेका थिए।

ती पुरुषको अनौठो यात्रा तब रोकियो, जब प्रहरीले उनीमाथि कर्फ्यु आदेश उल्लंघन गरेको आरोपमा ४८५ डलर जरिवाना तिरायो।

४८ वर्षीय ती व्यक्तिलाई सामाजिक सञ्जालमा नायकको पगरी थमाइएको छ र जरिवाना तिराइएकोमा आलोचना भइरहेको छ।

सञ्जाल प्रयोगकर्ताहरुले लकडाउनका बेला श्रीमतीसँग झगडा परेपछि यति लामो यात्रा गरेका उनलाई इनाम दिनुपर्ने तर्क पनि राखेका छन्। किनकी, उनले आफ्नो रिस शान्त पार्न कुनै हिंसा नगरेको र घरबाट चुपचाप पैदल यात्रामा निस्किएको तर्क राखिएको छ।

प्रहरीसँगको बयानमा ती व्यक्तिले यति लामो यात्रा गर्दा आफूले कुनै सवारीसाधनको प्रयोग नगरेको र बाटोमा भेटिएका मानिसहरुले आफूलाई खाना र पानी दिएको बताएका छन्।

उनले दैनिक औषतमा ६० किलोमिटर यात्रा गरेका थिए। प्रहरीले उनलाई रातको समयमा समुद्री तटमा चिसोले काँपिरहेको अवस्थामा फेला पारेको थियो।

कर्फ्युका समयमा मध्यरातमा भेटिएका ती व्यक्तिको वैयक्तिक विवरण परीक्षण गर्दा उनकी श्रीमतीले श्रीमान हराइरहेको उजुरी दिएको पत्ता लागेको थियो। त्यसपछि प्रहरीले उनकी पत्नीसँग सम्पर्क गरी लिन आउन भनेको थियो।