सुर्खेत – ढाड र दुवै खुट्टा भाँचिए पछि घरमै थला परेका वीरेन्द्रनगर १० घुस्राका ५२ वर्षिय कर्ण बहादुर नेपालीलाई स्वास्थ्यकर्मी तथा सामाजिक अभियान्ता महेन्द्र बहादुर थापाले उपचार सहयोग गरेका छन । उनले एम्बुलेन्स खर्च आफै तिरिदिएर अस्पतालसम्म ल्याएर उपचारको लागि पहल गरेका हुन । उनी बुधबार एम्बुलेन्स लिएर नेपालीको घरमा पुगेका थिए । नेपालीको घरदेखि प्रदेश अस्पताल आउन एक हजार एम्बुलेन्स भाडा लाग्छ । उनले एम्बुलेन्स खर्च सहयोग गरेर अस्पतालसम्म पु¥याएका हुन ।
दैनिक मजदुर गरेर घरपरिवार पाल्दै आएका नेपाली कामकै शिलशिलामा १२ वर्ष अघि ढाड भाँचिएर थला परेका थिए । चार वर्ष अघि ह्वीचियरबाट लडेर दुवै खुट्टा समेत भाँचियो । काठमाण्डौँसम्म उपचार गर्न जाँदा भएको जग्गा समेत बिक्रि गरेर र ऋण गरेर उपचार गरेका नेपालीले पछिल्लो समय आर्थिक संकटमा गुज्रिएका थिए ।
अस्पतालमा घाउ सफा गर्न समेत आउन पैसा नहुँदा उनी घरमै थला परेका थिए । स्वास्थ्यकर्मी थापाले आफुले अस्पतालसम्म ल्याउन पहल गरेको बताए । नेपालीसँग स्वास्थ्य बिमा कार्ड भएकाले उपचारमा सहज भएको उनको भनाई छ । ‘मैले अस्पतालसम्म ल्याउन एम्बुलेन्स खर्च सहयोग गरे।
उहाँहरुसँग स्वास्थ्य बिमा कार्ड भएकाले उपचारमा सहज भयो’ उनले भने, ‘यहाँ घाउ सफा गर्ने मात्र काम हुन्छ । थप उपचारका लागि उहाँलाई बाहिर लैजानु पर्छ । घाउ भएको ठाउँमा सर्जरी गर्नुपर्ने भएकाले कोहरपुर तथा नेपालगञ्ज लैजानुुपर्छ भनेर डाक्टरले सल्लाह दिनु भएको छ । सहयोगको आवश्यक छ ।’ उनले हप्तामा एक दिन आफु नेपालीको घरमै पुगेर घाउ सफा गरिदिने बताए । उनले नेपालीको १२ वर्षिया छोरीको अपाङ्गता परिचयपत्रका लागि पनि पहल गरिएको जानकारी दिए ।