कोरोना विरुद्धको खोप अब नेपालले भारत र चीनबाट ल्याउने

काठमांडौ -कोरोना विरुद्धको खोप अब नेपालले भारत र चीनबाट ल्याउने भएको छ। दुई छिमेकी देशबाट ल्याउँदा नेपालले २० प्रतिशत खोप नि:शुल्क प्राप्त गर्नेछ।

अमेरिकी कम्पनी फाइजरले बनाएको खोप आपतकालीन प्रयोग गर्न खोजेपनि नेपालले उपयोग गरेको थिएन। सो कम्पनीले बनाएको खोप धेरै महंगो र भण्डारणमा समेत समस्या पर्ने देखिएकाले अब नेपालमा भारत र चीननिर्मित खोप उपयुक्त हुने पाटन अस्पतालमा कार्यरत डा. बुद्ध बस्नेतले बताए। 

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनाको आनुवंशिक संरचना अध्ययन गरिसकेको र त्यसको निष्कर्षले यहाँ फैलिएको भाइरस भारत र साउदी अरेबियामा फैलिएको भाइरसको प्रकृतिसँग मिल्दोजुल्दो रहेको देखाएको थियो।

मन्त्रालयको कोभिड भ्याक्सिन सल्लाहकार समितिले नेपालमा भ्याक्सिन पाउने मानिसको संख्या, आवश्यक भ्याक्सिनको परिमाण, लागत टुंगो लगाइसकेको छ। नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ।

कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत र बाँकी सरकारले ब्यहोर्दा कोरोना विरुद्धको खोपमा ४८ अर्ब रुपैयाँ बराबर खर्च लाग्ने अनुमान मन्त्रालयले गरेको छ। कोभ्याक्स फ्यासिलिटीमा खोपमा काम गर्ने संख्याहरू विश्व स्वास्थ्य संगठन, गाभीलगायत संस्था आवद्ध छन्‌।

नेपालमा शुरूमा २० प्रतिशत भ्याक्सिन नि:शुल्क ल्याइनेछ। पहिलो चरणमा ल्याइने ३ प्रतिशत भ्याक्सिन जोखिमका आधारमा स्वास्थ्यकर्मीलाई दिइनेछ।

बाँकी १७ प्रतिशत भ्याक्सिन सामाजिक दूरी कायम गरी काम गर्न नसक्ने व्यक्ति, दीर्घरोगी र वैदेशिक रोजगारीका लागि जाने श्रमिकलाई लगाइने योजना सरकारले बनाएको छ।