क्वारेन्टिनमा बसेकाहरुका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि

सुर्खेत-कर्णाली प्रदेश आयुर्वेद औषधालयले क्वारेन्टिनमा बसेकाहरुलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने आयुर्वेद औषधी वितरण गरेको छ । बिहिवार सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालय र शिक्षा क्याम्पसमा रहेको क्वारेन्टिनमा बसेका १८३ जनालाई निःशुल्क औषधि वितरण गरिएको हो ।
सुर्खेत जिल्लाभर रहेका क्वरेन्टिनमा बसेका मानिसहरुका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि सहयोग गरिने आयुर्वेद औषधालय कर्णाली प्रदेशका वैद्य निरीक्षक दिपेन्द्र कँडेलले जानकारी दिए ।


यस्तै क्वारेन्टिनमा बसेका मानिसहरुका लागि तीन दिनसम्म योग तथा ध्यान अभ्यास निशुल्क सञ्चालन गरिने पनि कँडेलले जानकारी दिए । अव्यवस्थित क्वारेन्टिन तथा त्यस्ता क्वारेन्टिनमा राखिएका मानिसहरुका लागि सन्तुलित खानपान नभएको गुनासो आएकाले आयुर्वेद औषधालयले गरेको सहयोगले उनीहरुलाई केही राहत पुग्ने विश्वास गरिएको कँडेलले बताए ।
‘अव्यवस्थित क्वारेन्टिनमा बस्नुपरेको र खानपान सन्तुलित नभएको गुनसो आईरहेको छ,’ निरीक्षक कँडेलले भने, ‘यस्तो बेला जिल्लामा रहेको सबै क्वारेन्टिानमा बसेका व्यक्तिहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निशुल्क वितरण गरिरहेका छौं, योग तथा ध्यान अभ्यास गराउन थालेका छौं ।’
कोरोना संक्रमण भई आईसोलेशनमा बसेका बिरामीले पनि एक्लोपन महसुश गर्ने भएकाले उनीहरुको आत्मविश्वास बढाउन औषधालयको तर्फबाट औषधि निशुल्क वितरण गर्नुका साथै योग तथा ध्यान अभ्यास गराउने योजना बनाइएको कँडेलले जानकारी दिए ।