फागुनमा हावाले उडाएको विद्यालयको छानो अझै बनेन

सल्यान – हावाहुरीले छाना उडाएको एक वर्ष पुग्नै लाग्दा पनि सल्यानको एक विद्यालयको छाना मर्मत हुन सकेको छैन।

बनगाड कुपिण्डे नगरपालिका–११ मारहेको भेरी निम्न माध्यमिक विद्यालयको दुईकोठे भवनको छाना अझै हाल्न सकिएको छैन।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण आठ महिना विद्यालय बन्द भई पुनः सञ्चालन हुँदा पनि विद्यालयको छाना बनेको छैन। विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाइ नभएको प्रधानाध्यापक हेमराज वलीले बताए।

निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकेर कक्षा ८ बाट पाँचसम्म झार्ने योजना बनाएको बताउँदै उनले भने, ‘शिक्षकलाई तलब भत्ता खुवाउन नसकिरहेको अवस्थामा कुन आर्थिक स्रोतले विद्यालयको छाना मर्मत गर्नू?’

गत फागुनमा आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको छाना उडाएको थियो। विद्यालयजस्तो संवेदनशील क्षेत्र एक वर्षदेखि अलपत्र पर्नु निकै दु:खको कुरा भएको प्रअ वलीको भनाइ छ।