बिजुली माग्दै जुम्लाबासी आन्दोलित, सडकमै दियालो बाल्ने चेतावनी

जुम्ला – झण्डै आधा महिनादेखि नियमित विजुली आपूर्ति नभएपछि जुम्लाबासी आन्दोलित भएका छन् । उनीहरुले तत्काल बिजुली नियमित आपुर्ति हुने व्यवस्था गर्न माग गरेका छन् । बिद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति जुम्लाले पत्रकार सम्मेलन गरी नियमित बिद्युत आपूर्तिको माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

 

विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समितिका संयोजक तथा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जुम्ला अन्धकार हुँदा पनि कसैको चासो नगएको प्रति आक्रोश पोखे । उनले भने,‘आधा महिना देखि सदरमुकाम खलंगा उज्यालोविहिन छ । उपभोक्ताका आधारभुत आवश्यकता पुरा हुन सकेका छैनन् । बिजुली आपुर्तिका लागि न विद्युत प्राधिकरण जिम्मेवार बनेको छ । नत यहाँका राजनीतिक दलका नेताको चासो नै गएको छ । बिजुली आपुर्ति प्रक्रिया अन्यौलमा परेको छ । त्यसैको विरुद्ध यो निर्णायक आन्दोलन हो । ’

समितिले अहिलेकै जेनेरेटरबाट बिद्युत आपूर्ति गर्नुपर्ने, राष्ट्यि प्रसारण लाइन ६ महिना भित्र जडान गरी स्थायी रुपमा विद्युत आपूर्ति गर्नुपर्ने, टेण्डर आव्हान गरी जोडिएको मेसिनमा पटक पटक खराबी देखिएकोले यथासिघ्र छानविन गर्नु पर्ने, छानविन प्रतिवेदनका आधारमा ठेकेदारलाई कानुनी प्रक्रिया अगाडी बढाउनुपर्ने माग राखेको छ ।

जुम्लामा फोन र इमेलको क्षमता कमजोर हुदा कार्यसम्पादन प्रभावित भएकोले नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालय समेतको ध्यानाकर्षण गर्ने संघर्ष समितिले जनाएका छन् । दियालो बालेर सडकमा निस्कने, विद्युत तथा सञ्चार सम्वन्धी प्रयोगमा आउने नेपाल टेलिकम, विद्युत प्राधिकरणमा विद्युतीय सामाग्री बुझाउने जस्ता कार्यक्रम रहेका छन् ।

नगरपालिकाबासी दुई सातादेखि अध्याँरोमा बस्न बाध्य छन् । यहाँका नागरिक अध्यारोमा बस्न थालेको अहिले मात्रै होइन । हप्ता, महिना हुदै वर्षदिनसम्म पनि अध्यारो खेपिरहेका छन्,नागरिक समाजका अध्यक्ष महतले थपे,‘ नागरिकलाई अहिलेको अध्यारो नौलो लाग्न छाडिसक्यो । दियालोको भरमा रात काट्छन् । अब तत्काल उज्यालो चाहिन्छ । जसका लागि नेपाल विद्युत प्राधिकरण र सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।

घुघुती बिद्युत गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजारसहित सिंगो चन्दननाथ नगरपालिका दुई सातादेखि अन्धकार छ । वैकल्पिक व्यवस्थाका ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले थन्किएका छन् । २०४० सालमा घुघुतीमा उत्पादित विद्युतगृहको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडानको काम सुरु गरेको थियो । समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो । डुव्लिकेट (नक्कली) नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक पटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारो खेप्नु परेको छ ।

विद्युत् प्राधिकरणको लापरवाहीले सदरमुकामबासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेको नागरिक अगुवा महतले बताए । ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौं,’ उनले भने, ‘एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महिनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता छ । ’ उनका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ । यसअघि नागरिक समाज जुम्लाको सहजीकरणमा सरोकारवाला पक्ष बीच सर्वपक्षिय बैठक बसेको थियो । बैठकले प्राधिकरण जुम्ला शाखालाई नियमित विजुली आपुर्ति गर्ने व्यवस्थाका लागि आग्रह गरेको थियो ।