भौतिक मन्त्रालयको प्रगति समिक्षा कार्यक्रम शुरु

कार्यालयमा बसेर फायलमा हस्ताक्षर गर्ने र निर्देशन दिने कार्यशैली सच्याउन मुख्यमन्त्रीको निर्देशन

सुर्खेत – कार्यालयमा बसेर फाईलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैली सच्याउन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

कार्यालय प्रमुख समेत फिल्डमा खटेर परिणाममुखी काम गर्नुपर्ने र दोश्रो चौमासिकमा ५० प्रतिशत कार्यप्रगति सहित समिक्षा गोष्ठीमा आउन मुख्यमन्त्रीले निर्देशन दिएका हुन् ।

संगठन संरचनाको टुंगो लागेर मन्त्रालय मातहत हरेक जिल्लामा २ वटा कार्यालय रहेको जानकारी गराउँदै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शाहीले सेवा करारमार्फत कर्मचारी अभावको समस्या सामाधान भएको र हरेक जिल्लामा प्रदेश सरकारका लेखा ईकाई कार्यालय स्थापना भइसकेले बजेट कार्यान्वयनमा कुनै वाहानावाजी स्वीकार नगर्ने बताए ।

सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनका लागि लक्ष्यका साथ काम गर्न कार्यालय प्रमुखहरुलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिए । बजेट कार्यान्वयनसँग सम्बन्धित धेरै समस्या हल भएको भन्दै मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षको प्रगति उदाहरणीय हुनुपर्नेमा जोड दिए ।

कार्यसम्पादनका आधारमा कर्मचारीहरुको मूल्याँकन गरिने शाहीले बताए । मुख्यमन्त्री शाहीले निर्माण व्यवसायीको भरमा आयोजना नछोडन निर्देशन दिँदै हरेक आयोजना एवं निर्माणस्थलमा प्राविधिक खटाउन, विकास आयोजनाहरुको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय निर्माण कार्यका लागि अनुगमन तथा निरिक्षणको कार्यलाई कडाई गर्न प्रमुखहरुलाई मुख्यमन्त्रीले निर्देशन दिए ।

उनले भुक्तानी प्रक्रियामा ढिलासुस्तीको गुनासो आफुकहाँ आईपुगेको बताउदै कार्यसम्पन्न भएका आयोजनाहरुको भुक्तानीमा ढिलासुस्ती एवं अनावश्यक दुःख दिने कार्य स्वीकार्य नहुने बताए ।

मुख्यमन्त्री शाहीले दोश्रो चौमासिक सम्म वजेट कार्यान्वयनलाई तिव्र वनाउन आग्रह गर्दै विभागीय मन्त्रीको सहमति विना कोही पनि कार्यालय प्रमुखको विदा स्वीकृत नगर्न मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् ।