एचआइभी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको सरकारको दावी

फाइल फोटो

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गरेका छन् ।

तेतीसौँ विश्व एड्स दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ भएजस्तै सन् १९९० को दशकमा महामारीको रुपमा देखिएको एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गरेका हुन् ।

उनका अनुसार नेपालले नयाँ सङ्क्रमण दर सन् २०१० देखि २०१९ सम्म ६४ प्रतिशतले घटाएको छ । सोही समयमा विश्वमा यसको दर २३ प्रतिशतले घटेको छ । यस्तै नेपालमा एड्सको कारणले हुने मृत्युदर पनि ८५ प्रतिशत र विश्वमा ३९ प्रतिशतले घटेको छ । उनले कोभिड–१९ ले एचआइभी सङ्क्रमित र एचआइभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा अझ अप्ठ्यारो र चुनौतीसमेत भएको बताए ।