स्थानीय तहमा अस्पताल बनाउने अभियान सुरु, अर्थमन्त्री भन्छन्, ‘सेवा दिनुस्, पैसाको अभाव हुँदैन’

फाइल फोटो

काठमाडौं – स्थानीय तहमा अस्पताल निर्र्माणको अभियान सुरु भएको छ । देशभरका ३ सय ९६ स्थानीय तहमा सोमबार अस्पताल निर्माणको शिलान्यास गरिएको छ । स्थानीय तहको आधारमा ५ देखि १५ शैयासम्मको अस्पतालको शिलान्यास गरिएको हो ।

यही क्रममा अर्थमन्त्री विष्णु पौडेलले ललितपुरको गोदावरी नगरपालिकमास्थित बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवन निर्माणको शिलान्यास गरेका छन् सो अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालले अस्पताल पूर्वाधारका लागि ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चितता र यसमा स्रोतको कुनै अभाव नहुने बताउँदै पूर्वाधार निर्माणको कम ढुक्कसँग गर्न आग्रह गरे ।

अर्थमन्त्री पौडेलले स्वस्थसँग बाँच्न पाउनु पर्ने संविधानको मौलिक हक अनुसार स्थानीय तहमा सुविधा सम्पन्न पूर्वाधार, डाक्टर, स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरणको उपलब्धताका लागि महाअभियानका रुपमा स्थानीय तहहरुमा एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको बताए ।

उनले १८ करोड रुपैयाँको सीमामा रहेर १५ शैयाको अस्पताल निर्माण गर्न सकिने भन्दै पूर्वनिर्धारित समय दुई वर्ष अघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । अस्पताल निर्माण गर्दा लागत, गुणस्तरीयता र समयमा काम सक्ने कुरालाई विशेष ध्यान समेत उनले आग्रह गरे । ।

अर्थ मन्त्रालयले एक हप्ता अघि ५, १० र १५ शैयाका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रकृया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको थियो ।

अर्थ मन्त्रालयले स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ । सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०/५० शैयाका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन ५६ करोड रुपैयाँको व्यवस्था समेत गरिएको छ । (रातोपाटी)