सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सिटी बसपार्क सञ्चालनमा आएको छ । मंगलगढी नजिकै अस्थायी रुपमा सञ्चालन हुँदै आएको बसपार्क पुरानै बसपार्कमा नयाँ संरचनासहित निर्माण भएपछि सञ्चालनमा आएको हो ।
राजधानीको मुख्यचौकमा बसपार्क हुँदा दुर्घटनाको जोखिम र अस्तव्यस्त पार्किङले क्रुप बनाएको थियो । नयाँ बसपार्क सञ्चालनमा आएपछि यात्रु र बस व्यवसायीहरुलाई सहज भएको छ ।
मंगलगढीको साघुरो ठाँउबाट सेवा प्रवाह गर्दै आउँदा निकै असहज भएको सुर्खेत काँक्रेविहारका अध्यक्ष रमेश सापकोटाले बताए । नयाँ बसपार्क सञ्चालनसँगै यात्रुहरुका झोला तान्ने, जवरजस्ती गर्ने जस्ता कार्यलाई बन्देज लगाउनमा आफूहरुले नगरपालिका र स्थानीय प्रशासनलाई साथ दिने सापकोटाले उल्लेख गरे ।
बसपार्क संचालनको लागी पीआर कन्ट्रक्सनले तीन बर्षको सम्झौता गरेको छ । सिटी बसपार्क सार्वजनिक चासोको बिषय भएकोले सबैको समन्वयमा नमूना बसपार्कको रुपमा सञ्चालन गर्ने प्रतिवद्धता पीआर कन्ट्रक्सनका प्रतिनिधी टोपेन्द्र मल्लले जनाए।
नयाँ बसपार्कमा यात्रुहरुलाई आवज–जावजत गर्ने वातावरण सहज गराइने नगरपालिकाले जनाएको छ । साथै, बसपार्क भित्र सिसिटिभी जडान, सुरक्षा पोष्ट, ट्राफिक सिङ्गनल, साइन, यात्रु चढ्ने वा झर्ने ठाउँ निश्चित, यातायात कार्यलयका कर्मचारीले परिचय–पत्र तथा जर्सीको अनिवार्य प्रयोग गर्ने जस्ता नियमहरु बनाइएको छ ।
वीरेन्द्रनगरमा बनेको सिटी बसपार्क दुई वर्ष अघि नै निर्माण कार्य सम्पन्न भएको हो । निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण गरिएको दुई वर्षपछि सञ्चालनमा आएको छ ।
सिटी बसपार्क निर्माणको कुल लागत सात करोड ४४ लाख रुपैयाँ लागेको नगरपालिकाले जनाएको छ । करिब चार हजार पाँचसय वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको सिटी बसपार्कमा साना, ठूलासहित एकसय २० वटा सवारी अट्न सक्ने क्षमताको हो ।