सुर्खेतमा एकैदिन दुई अस्पतालको शिलान्यास

नेपाल सरकारले सुर्खेतमा एकैदिन दुई अस्पतालको शिलान्यास गरेको छ । वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोली अस्पताल र जिल्लाकै बराहताल गाउँपालिका–५, बड्डीचौर अस्पतालको शुक्रबार नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले शिलान्यास गरेका हुन । सरकारले एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने कार्यक्रम अन्र्तरगत बहुबर्षिय टेण्डरका आधारमा जिल्लाका दुई अस्पतालको शिलान्याससँगै निर्माण कार्य शुरु भएको छ । १८/१८ करोड रुपैयाँको लागतमा बन्न लागेका  १५ शैयाका अस्पताल सञ्चालनमा आएपछि नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतले विश्वास व्यक्त गरे ।

उनले जतिसक्दो चाँडो अस्पताल निर्माण सम्पन्न गर्नुका साथै गुणस्तरीय सेवा प्रवाहका लागि सबै पक्षको समान जवाफदेहिता रहने औल्याए । उनका अनुसार १५ शैयाको विशेषज्ञ डाक्टरसहितको सेवा रहने ती अस्पताल अबको दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरि काम अघि बढाईएको छ ।

सरकारले स्वास्थ्यलाई मौलिक हकको रुपमा व्याख्या गरिएको छ । गम्भीर खालका रोगहरुको विशेष उपचार सेवा बाहेक प्रत्येक नागरिकलाई अन्य सम्पूर्ण आधारभूत स्वास्थ्य सेवा स्थानीय स्तरकै अस्पतालबाट पाउने व्यवस्था गर्नका लागि सरकारले एउटा स्थानीय तहमा एउटा अस्पताल अनिवार्य बनाउने योजना अघि सारेको हो ।