चिनियाँ कम्पनी सिनोफार्मको भ्याक्सिन तयार, लाइसेन्सको लागि दियो आवेदन

चीनको भ्याक्सिन विकासकर्ता कम्पनी सिनोफार्मले आफुले बनाएको कोरोना भ्याक्सिनको लाइसेन्सको लागि चिनियाँ प्राधिकरणमा आवेदन दिएको छ। कम्पनीले विश्वका फरक-फरक क्षेत्रमा गरिएको ‘क्लीनिकल ट्रायल’ पछि भ्याक्सिन बजारमा सार्वजनिक गर्न तयार रहेको बताउँदै चिनियाँ प्राधिकरणमा आवेदन दिएको हो।

 

उक्त कम्पनीका एक प्रतिनिधिले गएको बुधबार सरकारी ‘ग्लोबल टाइम्स’सँग कुरा गर्दै भने, ‘भ्याक्सिनबाट हुने मानव परीक्षणको तथ्यांक संयुक्त अरब जस्ता देशहरुबाट एककृत गरिएको छ। जसबाट नतिजा राम्रो आउने सम्भावना देखिएको छ।

 

यो भ्याक्सिन सर्वसाधारणको प्रयोगको लागि अब तयार छ। ‘ सिनोफार्मले खोपको तेश्रो चरण मानव परीक्षणको तथ्यांक चीनियाँ सरकारी खाद्य र औषधी प्रशासनलाई सुम्पिएको छ। यस्तै, कम्पनीले यसै सिलसिलामा विश्व स्वास्थ्य संगठनसँग पनि सम्पर्क राखिरहेको छ। कम्पनीले भ्याक्सिनलाई सार्वजनिक गर्ने अन्तिम चरणमा रहेको समेत जनाएको छ।

 

कम्पनीको अनुसार भ्याक्सिनलाई बजारमा ल्याउनु अघि अनुमति लिएपछि अक्याडेमिक पत्रिकाहरुबाट तेश्रो चरणको तथ्यांक प्रकाशित हुनेछ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पछिल्लो हप्ता मिडियासँग बताउँदै भनेका थिएकी संयुक्त अरब, ब्राजील, पाकिस्तान र पेरू समेत केहि देशहरुमा ५ चिनियाँ कम्पनीले कोभिड-विरुद्ध भ्याक्सिन मानव परीक्षण गरिरहेको छ। -एजेन्सी