सुदूरपश्‍चिम प्रदेशको बजेट समीक्षा, २ अर्ब ९ करोड खर्च

फाइल तस्बिर

काठमाडौं – सुदूरपश्‍चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकको खर्च तथा राजस्व संकलन विवरण सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी खर्च तथा आम्दानी सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले पहिलो चौमासिकमा कुल बजेटको ६ दशमलव २९ प्रतिशत अर्थात् दुई अर्ब नौ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्ष ०७७/७८ को प्रथम चौमासिकसम्मको बजेट खर्च र राजस्व संकलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले यस वर्ष गत वर्षभन्दा १ दशमलव ७६ प्रतिशतले खर्च वृद्धि भएको बताए ।

गत वर्ष पहिलो चौमासिकमा कुल बजेटको ४ दशमलव ५३ प्रतिशत मात्रै खर्च भएकामा यस वर्ष चालुतर्फ एक अर्ब १० करोड ४७ लाख ५० हजार अर्थात् ६ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार अर्थात् ५ दशमलव ९३ प्रतिशत खर्च भएको मन्त्री बोहराले बताए ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालुतर्फ ५ दशमलव ४० प्रतिशत र पुँजीगततर्फ ३ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको थियो । प्रदेश अर्थमन्त्री बोहराले यस वर्ष चालु तर्फ एक दशमलव २५ र पुँजीगततर्फ २ दशमलव ४१ प्रतिशतले खर्च बढी भएको बताए ।

चालु आर्थिक वर्षमा सुदूरपश्‍चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजारबराबरको बजेट विनियोजन गरेको थियो । मन्त्री बोहोराले यस वर्ष ९० प्रतिशतभन्दा बढी बजेट खर्च हुने दाबी गरे ।

यस्तै राजस्वतर्फ पनि गत वर्षभन्दा प्रगति भएको मन्त्री बोहोराले बताए । चालु आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पहिलो चौमासिकमै ४५ दशमलव ९३ प्रतिशत अर्थात् ३१ करोड ९ लाख ६६ हजार राजस्व संकलन गरेको मन्त्री बोहराले बताए ।

प्रदेश सरकारले गत आर्थिक वर्षको पहिलो चौमासिकमा ३२ दशमलव १२ प्रतिशत राजस्व संकलन गरेको थियो । तर यस वर्ष गत वर्षको पहिलो चौमासिकको तुलनामा ६४ दशमलव ४५ प्रतिशतले बढी राजस्व संकलन भएको छ ।