दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ

हेटौंडा – गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी पत्नी दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ गरेकी हुन्।

लामालाई कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै उनलाई हेटौंडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए। हेटौंडा १२ मा माइतीमै बस्दै आएकी उनलाई चोरी मुद्दामा फरार भएकी भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको हो।

उनलाई हेटौंडाबाट पक्राउ गरेर कास्की जिल्ला अदालतमा उपस्थिति गराउन पठाइएको प्रहरी नायव उपरीक्षक रानाले बताए। प्रदेश सांसद बन्नुअघि दीपक मनाङे गुण्डागर्दीको आरोपमा पटक-पटक पक्राउ पर्दै छुट्ने गरेका थिए।