जग्गा बाँझो राखे वडा कार्यालयले जरिवाना गर्ने

मुगु – छायाँनाथ रारा नगरपालिकाले खेतीयोग्य जग्गा बाँझो राख्नेलाई जरिवाना तिराउने भएको छ । नगरपालिका वडा नं ४ ले जिल्लामै पहिलो पटक यस्तो निर्णय गरेको हो । रोग, भोक र गरिबीको रूपमा चिनिँदै आएको मुगु जिल्लामा हाल सम्म पनि उस्तै अवस्था रहेको छ । यस्तो अवस्था आउन नदिन यस वडा नं ४ का स्थानीयबासीले खेति गर्दै आइरहेको जग्गालाई बाँझो राखे वडा कार्यालयबाट दिइँदै आएका सरकारी सेवा सुविधा नदिइने निर्णय गरेको हो।

मंसिर ३ गते बसेको वडाकार्यालयको बोर्ड बैठकले यस्तो निर्णय गरेको वडा कार्यालयले जनाएको छ । हिउँदेबाली नलगाएर जग्गा बाँझो राख्नेलाई वडाबाट प्रदान हुने कुनै पनि सरकारी सेवासुबिधा नदिने निर्णय गरिएको छायाँनाथ रारा नगरपालिका वडा नं ४ मुगुले जनाएको छ । वडका अनुसार वडा नम्बर ४ मा रहेका बस्तीहरु भामबाडा, रावलबाडा र रोकायाबाडाका स्थानीयले खेती गर्दै आइरहेको जग्गामा हिउँदे रैथाने बाली जौं र गहुँ लगाउन छोडेको हुदा यसलाई हराउन नदिन वडा कार्यालयले यस्तो थालनी गरेको ४ नं वडाका वडा अध्यक्ष विष्णुकुमार भामले जानकारी दिए ।

 

पछिल्लो समय बजारमा आयातित खाद्यान्न भित्रिए पछि स्थानीय ग्रामिण भेगमा पाईने रैथाने बालि अन्न उपजहरु हराउन र खेतीपाति गर्न छोडेपछि वडा कार्यालयले यस्तो निर्णय जारी गरेको वडा अध्यक्ष भामको भनाई छ । कर्णालीका जिल्ला मध्ये मुगु जिल्ला एक अर्गानिक जिल्लाले पनि चिनिन्छ । परम्परागत रुपमा उत्पादन हुने दर्जनौ प्रकारका अन्न बालि पनि यहि पाईन्छ । यि अन्न बालिले वालवालिका देखि वृद्ध वृद्धा सम्म पाईने पौष्टिक तत्व पनि पाईने यहाका बरिष्ठ कृषकहरुको बुझाई रहेको छ ।

नगरपालिका भित्र रहेका अन्य बस्तीमध्ये यस वडामा रहेको सबै जग्गामा एक वर्षमा दुईपटक अन्न बाली उत्पादन हुने गरेको छ । वडा बासिले बर्षे बालीमा कोदो, धान, मकै, सिमी, फापर,आलु र हिउँदे बालीमा जौं र गहुँ उत्पादन गर्दै आइरहेका छन् । साथै तरकारी खेती गर्दै पनि आइरहेका छन् ।