अमेरिकामा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप दिइने

काठमाडौं – अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको छ।

कोरोना भाइरसको भ्याक्सिन सम्बन्धी अमेरिकाका कार्यक्रम प्रमुख डाक्टर मोनसेफ सलोइले अमेरिकाका नागरिकलाई आउने डिसेम्बर ११ तारिखदेखि खोप उपलब्ध हुनसक्ने जानकारी दिएको बीबीसीले जनाएको छ। डाक्टर सलोइले खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र खोप दिन सुरु गरिने जानकारी दिए।

अमेरिकामा कोेरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा डाक्टर सलोइको यो भनाइ आएको हो। अमेरिका कोरोना सङ्क्रमितको पहिलो नम्बरमा रहेको छ। अमेरिकामा अहिलेसम्म एक करोड २५ लाखभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन।

औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपतकालीन प्रयोगका लागि अनुमति लिन गएको शुक्रबार आवेदन दिएको छ। अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ या छैन भनेर निर्धारण गर्नेछ ।

यसका लागि एफडीएलाई कति समय लाग्ने भन्ने बारेमा यकिन भइसकेको छैन। यसअघि यो खोपको परीक्षणको क्रममा ६५ वर्षभन्दामाथिको उमेर समूहका ९४ प्रतिशतमा प्रभावकारी देखिएको थियो। यस खोपको परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी भएका थिए।