भिआरको निर्णयप्रति डि ब्रुनेले भने : मलाई अब नियम थाहा छैन

एजेन्सी- म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुनाले टोटनह्यामसँगको खेलमा रेफ्रीले नदिएको गोलमा आश्चर्य प्रकट गरेका छन्। उनले भनेका छन् – म अचम्ममा परेको छु कि भिआर प्रविधिमा यो कस्तो परिवर्तन आएको हो? ह्यान्डबल देखाएको भिआरको निर्णयप्रति घुमाउरो शैलीमा विरोध गर्दै आफूलाई केही थाहा नभएको बताएका छन्।

प्रिमिएर लिगअन्तर्गत गएराति भएको आफ्नो आठाैं खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामसँग उसकै मैदानमा ०–२ गोलअन्तरले पराजय भोगको थियो। हारपछि बेल्जियमका स्टार खेलाडी ब्रुनाको यस्तो भनाइ आएको हो।

पहिलो हाफमा अमेरिक लापर्टाले सिटीका लागि गोल गरे पनि भिआरले उक्त गोल ह्यान्ड बल बनाइदिएको थियो। ग्याब्रिअल जिससको पासमा उनले गरेको सुन्दर बल गोलमा परिणत नभएपछि सिटीका खेलाडी निराश भएका थिए।

पहिलो हाफको ५ मिनेटमै गोल खाएको सिटीले लगातार आक्रमण गरेक पनि टोटनह्यामको पोस्टमा गोल गर्न सकेन। दोस्रो हाफमा (६५ मिनेट) मा अर्को गोल खाँदै सिटीले खेल गुमाएको थियो।

लिगमा ८ खेल खेलेको सिटी मात्र ३ जितका साथ ११ औं स्थानमा छ। उसले २ खेलमा हार तथा ३ खेलमा बराबरी गरेको छ। तर हिजो भएको आफ्नो नवाैं खेलबाट टोटनह्याम भने शीर्ष स्थानमा उक्लिएको छ। लिगमा १ खेल मात्र हारेको उसले २ खेल बराबरी र ६ जित निकालेर २० अंक बनाएको छ। समान खेलबाट दोस्रो स्थानमा रहेको चेल्सीभन्दा उसको २ अंक बढी छ।