मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत

काठमाडौं– लक्जमवर्गमा आयोजित युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को विजेता मुक्तिनाथ  विकास बैंक भएको छ ।

मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो ।

युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १–१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए ।

यो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने बैकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखाहरु मध्ये ११८ ओटा शाखा मार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिइरहेका छन् भने यो क्षेत्रमा रु. १७ अर्ब भन्दा बढी लगानी छ ।