सुर्खेत – सल्यानमा समुदाय स्तरमा कोरोना देखिएपछि जिल्लाका बिभिन्न क्षेत्रहरु सिल गरिएको छ । गत कात्तिक २९ गते देखी जिल्लाको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर सिल गरिएको छ । यस्तै गत कात्तिक २७ गते देखी बागचौर नगरपालिका सहित मुख्य वजार क्षेत्र थारमारे, वागचौर लगाएतको क्षेत्र सिल गरिएको छ भने कात्तिक २९ गते देखी आकस्मिक सेवा बाहेकका अरु सेवाहरु पनि जिल्ला अस्पताल सल्यानले बन्द गरेको छ ।
अहिले कोरोना भाइरसको जोखिम उच्च भएकाले आबश्यक सजकता अपनाउन आग्रह गरिएको शारदा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । श्रीनगर वजारका स्थानियमा पनि कोरोना देखिएकाले आबश्यक सजकता अपनाउन आग्रह गरिएको उनको भनाई छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा पिसिआर परिक्षण गर्न उनले आग्रह गरेका छन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार अहिले जिल्लाभर कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या ५७ रहेको छ । अहिले ती सबै संक्रमित जिल्लाका बिभिन्न होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले अहिलेसम्म जिल्लाभर ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
ती मध्ये अहिले सम्म ५ सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । हाल सम्म जिल्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यू भएको छ ।