फरार मोटरसाईकल चालको खोजिकार्य तिब्र, पीडित पक्षलाई आन्दोलन नगर्न सिडिओको अपिल

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट अगाडी मोटरसाईकलले ठक्कर दिएर मृत्यु भएका बालकको घरमा सिडिओसहितको टोली पुगेको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहितको टोलीले पीडित परिवारको घरमा पुगेर आन्दोलन नगर्न अपिल गरेको हो ।

पीडितको घरमै पुगेर उनीहरुले फरार रहेको मोटरसाईकल र चालक सीसीटिभी क्यामरामा रेकर्ड भएकाले खोजी भइरहेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रेग्मीले पीडित परिवारलाई घटनाबारे अनुसन्धान भइरहेको भन्दै आन्दोलन नगर्न अपिल गरे ।

‘प्रहरीले आफ्ना सबै सयन्त्र परिचालन गरिरहेकाले चाडै नै मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिइने प्रशासनले जनाएको छ । पीडित पक्षले शान्तिपूर्ण आन्दोलन गर्ने, क्षतीपूर्ती र कारवाहीका विषयमा दवाव दिने तयारी गरेको छ । वीरेन्द्रनगर–१ धारापानीका तीन वर्षीय बालक समिर नेपालीलाई जिल्ला प्रहरी कार्यालय अगाडी मोटरसाईकलले ठक्कर दिएर फरार भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते बालकको उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा मंगलबार बाटोमै मृत्यु भएको थियो । आफन्तले तत्काल फरार मोटरसाईकल र चालकलाई पक्राउ गरेर कारवाहीको माग गर्दै बुधबार वीरेन्द्रनगरमा प्रदर्शन गरेका थिए ।